हामी दिक्तेल जाँदै थियौँ। सिन्धुली जिल्लाको झारा भन्ने ठाउँ आएछ। यहाँका मकैमा धानचामल आइसकेका थिए। केही गर्मीको अनुभव पनिहुन थालिसकेको थियो। त्यसपछि रातमाटा बजारमा पुगियो। यहाँ बाटै छेउमा घर थिए र घरकै छेउ, भित्ता, बाटोबलेसी हुँदै गाडी गुड्दा रहेछन्।
झाँगाझोली रातामाटा बजार भनिने यस ठाउँमा तेस्रो चेकपोष्ट आयो। चिया, चाउचाउ खाने र किनमेलको सानो बजार पनि रहेछ। त्यसपछि पनि बाटो राम्रो आएन। उही चिरपरिचित उवडखावड बाटो।
एकैछिन राम्रो बाटो भेटिन्थ्यो फेरि उस्तै अस्तव्यस्त। मूलकोटको बेँसी र बलौटे बगरमा पुग्दा बाटोको अस्तव्यस्तताले यात्रुको जीउ थचारिएर थिल्थिलियो। त्यसमाथि गर्मीको तापले सबै जनाओइलाएकाथिए। यतिबेला गीतको रन्को शून्यमा झरेको थियो। गाडीको उफ्राइले आत्तिएकाथिए।
शीतलपाटी, चैनपुरमा पुग्दा केही शीतलताको महसुस भयो। हलक्कै हुर्किएका मकैका फाँटले मनमा आनन्द प्रदान गर्याे । तिनमै हाम्रो जीवनले बाँच्ने आधार पाउँछ। तर क्षणभरमै मरूभूमि जस्ता डाँडा आए। त्यहाँ बोटबिरूवाको अस्तित्व थिएन। स–साना सायद घँगारूका पोथ्रापोथ्री खान नपाएका ‘सोमालियन’ जस्तै देखिन्थे। कुनै ऐँजेरू पलाएर अर्मट्ठिएका। यिनै कच्ची बाटोमाउकालो चढेर सुनकोशी हेर्दा डरलाग्दो अनुभूतिहुन्थ्यो।
बाटोको हालत एकैछिनमा राम्रो पुनः खाल्टाखुल्टी र कच्ची बाटो आउँथ्यो। गाडीले यात्रुलाई ओर्काइफर्काइ मानसिक र शारीरिक व्यायाम मजाले दियो । ‘ठूलो आशाभन्दा सानो भरोसा नै डेगिलो हुन्छ ।’ भन्ने कुरामा विश्वस्त हुँदै त्यहाँ मैले पक्की सडकको अपेक्षा गर्न सकिनँ।
पहाडको खाल्टामा अवस्थित खाल्टे बजार आयो। केही खिर्चिमिर्चीका पसल रहेछन् यहाँ । उस्तै बाटो भएपनि केहीबेर पछि भने पक्की सडकमा धेरै समयपश्चात् गाडी गुड्यो। ‘यस्तै बाटो भए त गुरूजीले हामीलाई दिउँसै दिक्तेल पुर्याउँथे होला।’ केही साथीहरू यस्तै कुरा गरे। हुनपनि बाटो साँच्चै लोभलाग्दो थियो। फराकिलो हुनुसँगै पिच गरिएकोले गाडी हावासरी हुँइकिन्थ्यो। कवि भागवतजीले भन्नुभयो– ‘अब यहाँबाट सुनकोशीमा तामाकोशी मिसिएर चतुर्थकोशी भयो।’
केहीछिन निदाउँदा नेपालथोक कटिसकेको पनि ख्यालै भएन। त्यसपछि खुर्कोट नजिकको बाटो हुँदै भीमेश्वरमा पुग्दा बाटो र वातावरण खुल्ला अनि रमणीय देखियो। यसै ठाउँमा पुगेर खाना पनि खाइयो। भोकाएको बेला भएर मात्र होइन यहाँको खाना निकै स्वादिलो थियो। सहरको मिसावट र बासी खानापानले वाक्क भएको मुख यहाँको ताजा र कुनै विषादी नमिसिएको खानाले मिठिएको थियो सायद।
मध्यदिनको खानापछि आलस्यले जीउगल्यो। भातेनिद्राले आँखा लोलाउन थाल्यो। एकजनाको मात्र होइन सबैको हालत यस्तै भयो। यहाँको बाटो चिटिक्क परेको, फराकिलो र चिल्लो थियो।
यसै ठाउँबाट सिन्धुली गढी जाने बाटो छुटिँदो रहेछ। मकैबारीले भरिएको डुँढ भञ्ज्याङ्ग हुँदै गाडीले खाङ्साङमा पुगेर सास फेर्याे । नौलापुरमा चढेकी आमा र बच्चाओर्लिए। बाटो बनाउन बसेकाआफ्ना पतिलाई भेट्न ती महिला यहाँआएकी रहिछन्। दूधेबच्चालाई काखमा च्यापेर तिनले खानुसम्मको सास्ती खाँदै आएकी थिइन्। गाडी चढ्न पनि तिनले सा-है नै रोइकराई अनुनय–विनय गरेकी थिइन्। घाममा पोलिएर पसिनाले भिजेको शरीरलाई तिनले यात्रुबाहक बसको धूलोमैलो माथ चारेकी थिइन् ।
‘बरू झुण्डिएरै जाउँला! घाममा बच्चाबोकेर हिँड्नु त परेन।’ तिनको आत्मसन्तुष्टि पनि रहेछ यो। किनभने गाडी चढेर जाँदा उभिनै परेपनि घाम र बच्चाको सास्तीबाट मुक्तहुन सकिन्छ। ‘हामीले त टुलुटुलु गाडी गुडेको हेर्नु मात्रहो हजुर। चढ्ने मौका मिल्दैन। पैसा तिर्नु परेपनि अलि दयालु ड्राइभर भए बस चढ्न पाइयो। नत्र हात दियो रोके त मर्नु। घाममा टट्टिएर आश गर्दा दिनै बित्छ....।’ ती बच्चाकी आमाले दुखेसो पोखेकीथिइन्।
‘छाती चिरेर देखाउन कहाँ सकिन्छ र?’ तिनका असङ्ख्य पीडा, वेदनाहरूथि । केही बोलीमै तिनका आँखा रसाउन थालिसकेका थिए।
स्थानीयको जीवनकतिसम्म पीडादायी यात्रामा सामेल रहेछ भने तिनका लागि आराम, खाना, परिवार केही थिएन। सुख र सन्तोष भन्ने कुरा धेरै टाढाको विषय भयो। एकछाक खाने समस्या छ। एकसरो आङ्ग ढाक्ने कपडा छैन। नुवाइधुवाइ नगरेको कति भयो थाहा छैन। शरीरमा कति मयलको काती होला? कति पीडा र दुःखको घाउचोट होलान्?
त्यसको कतै र कुनै हिसाबकिताब छैन। असमयमै अनुहारमाआएको चाउरिपन र मैलोधैलो अवस्थाले अन्ततः नेपाली जनजीवनको प्रतिनिधित्व गरिरहेको थियो। त्यो गरिब नेपालीको सग्लो चरित्र–चित्रणले सुकिला मुकिला नागरिकप्रति व्यङ्ग्यवाण पनि गरिरहेझैँ लाग्थ्यो।
सिन्धुलीको सिमाना सकिएर अब हामी उदयपुर जिल्लाको घुर्मी बजार पुगेछौँ। तराईबाट आएका सामान मिलाउने र पहाडतिर लैजाने मालतालको व्यवस्था गरिँदैथ्यो त्यहाँ। पसल, गाडी, सामान र मान्छेको अस्तव्यस्तता देख्दा यो ठाउँ पनि कमचल्तीको बजार होइन रहेछ भन्ने लाग्यो। स्थानीय र बाहिरबाट आएका अधिकांश आ–आफ्नै काममा व्यस्त थिए।
पहाडी कछाड र जङ्गलको बीचमा बजार भएकाले पनि यो ठाउँ उकुसमुकस लाग्दो थियो । गर्मी त छँदै थियो । पहाडको खोँचमा हावाको कतै प्रवाह थिएन। ‘यस्तो तातो हावाचल्ने ठाउँमा किन गाडी रोकेको ?’
यो प्रश्नसँगै उत्तर आयो ‘आफूले मात्रै पेट भरेर भयो र ! गाडीलाई पनि त खुवाउनु पर्याे नि। नत्रकहाँ गुड्न सक्छ गाडी?’
गाडीमा तेल लगाइएकाले गाडी रोकिएको रहेछ। यो कुरा मलाई पनि थाहा भएन । एकछिनको रोकाइमा यताउताका दृश्य हेर्ने कामभयो। यो बजार कोशीको ढिस्को माथि थपक्कै बसेको रहेछ। त्यहाँबाट पारिको बजार र टोक्सेलको पुल देखियो। पहिले यही ठाउँमा डुङ्गाबाट मान्छे ओहोरदोहोर गर्थे। अहिले पुल बनेकाले सजिलो भएको रहे।
गाडीबाट बाहिर चिसो हावा खान निस्किएकाहरू तातो हावामा बाफिएर असिनपसिन हुँदै गाडीभित्र पसे। तेलखाएर टन्न भएपछि कच्ची बाटोको धुलो उडाउँदै गाडी गुड्यो। कोशीको जलप्रवाह देख्दा केही शीतलताको अनुभूति भयो।
त्यहाँबाट टोक्सेलघाट तरेपछि टेकियो ओखलढुङ्गा जिल्ला। कति साथीहरूले ‘मेरो प्यारो ओखलढुङ्गा’ गाए। राष्ट्रिय गीतका रचनाकारको घर पनि यहीँ हो भने। यही जिल्लाको हर्कपुरमा पुगेर पारि हेरियो उदयपुर वारि कोशीको किनारमा अवस्थित हर्कपुर। केही सरकारी कार्यालयसहित यहाँ प्लटिङ्गको जग्गा बिक्रीको व्यवसाय राम्रै फस्टाएको थाहा भयो।
धरान–धनकुटा सडक निर्माणकालागि यस ठाउँमा बसपार्क पनिबन्दै रहेछ । त्यसैले यहाँको जग्गाले राम्रै मूल्य पाइरहेको पनि थाहा भयो।
आँपका बोट–बगैँचा र केरा घारीले यो ठाउँ निकै हरियाली लाग्थ्यो। पहिले त यहाँ तित्रीको अचार निकै प्रसिद्ध थियो रे। यहाँ भर्खर बजार गुल्जारको स्थिति तिर लम्किँदै गरेको रहेछ। स्थानीय युवती ओँठमा मुस्कान निम्याउँदै जबर्जस्ती लिपपोत गरेर आगन्तुकको सेवामा तयार हुन आतुर थिए। आफ्नो बाहेक अरूको कामको वास्ता थिएन।
‘अब हामी केहीछिनमै जयरामघाट पुग्छौँ । घाट कटेपछि बल्ल टेकिन्छ खोटाङ जिल्ला। दूधकोशीपारि हो दिक्तेल।’ एकैसिटमा बसेका भागवतजीले यति भन्नु त भयो। तर गाडी जसै उकालो लाग्यो पिच गरिएको राम्रो बाटो सिद्धिएर बाटो बनाउँदै गरेका गाडी र दिक्तेल जाने–आउने गाडीले बाटो अबरूद्ध हुनपुग्यो। हामी त्यहाँ घण्टौँ रोकियाै।
‘यस्तो सुस्त गतिले कसरी, कहिले पुगिएला जयरामघाट अनि दूधकोशी तरेर दिक्तेल?’ मैले जिज्ञासा राखेँ। तर कतिपय साथीहरू यो सडकमार्ग भएर पहिलो चोटि दिक्तेल जाँदै गरेकाले बाटोको अवस्थामा भर पर्ने कुरा बताउँथे। पहाडीमार्ग छिचोलेर गन्तव्यसम्म पुग्न कति कठिन छ भन्ने कुरा यसरी यात्रामा सामेल भएपछि नै तथ्यविवरण जानकारी हुन्छ।
यस्तो विकटता र कठिनाइमा पनि स्थानीय जीवन हाँसेर बाँच्न सकेका छन्। हिँडेरै डाँडाकाँडा पुग्न भ्याएका छन्। मेलापात, कामधन्दा, भेटघाट आदि हरेक कार्यमा पैताला खियाउनुको विकल्प छैन। बल्ल गाडी गुड्न थालेपनि स्थानीयकालागि त्यो सेवा सुलभ छैन।
बाटोमा गाडी बिग्रिएर यात्रीहरूअलपत्रिएका भेटिए । ढुङ्गाको चट्टाने पर्वतलाई फोरेर बनाइएको बाटोमा भर्खर पिच गरिँदैथ्यो। त्यसले गर्दा पनि गाडी जामको अवस्था आउँथ्यो। अब अर्को आपत आइलाग्यो। बिग्रिएका गाडीमा अलपत्रिएका यात्रुलाई हाम्रै गाडीमा कोचेर कठिन कच्ची उकालो चढाउने भए गुरूजीले। त्यसमा कविद्वयटीका र चन्द्र रानोहँछाले प्रतिवाद गर्नुभयो।
विवाद र विचार विमर्शले समय निकै बित्यो। आपत परेकालाई उद्धार गर्नु त उचित हो तर गाडीमा कोचाकोच गरी बढी वजन थपिँदा अप्रिय घटना नघट्ला भन्न सकिन्न। साथीहरूले यही कुरामा सचेत गराए गाडी चालकलाई।
‘हाम्रो कुरा सुनिदिनुस् गुरूजी। हामीले जसरी भएपनि आजै दिक्तेल पुग्नु छ। अतिथिहरू हुनुहुन्छ। उहाँहरूलाई राति पार्नु हुँदैन। उता साथीहरू स्वागतका लागि पर्खिएर बस्नुभएको छ। यसरी रोक्दै, मान्छे राख्दै, झार्दै गरिरहने हो भने त हामीले रिजर्भ गरेको नै के अर्थ भयो र? समय धेरै गइसक्यो।’ साथीहरूकायी कुरा गुरूबाका कानमा पर्न सकेन।
‘गाडी हाँक्ने मैले हो हजुरहरूले हैन । कस्तो बाटोमा कति मान्छे कसरी लैजानुपर्छ मलाई थाहा छ। यहाँहरूलाई ठिक समयमै दिक्तेल ओराल्ने जिम्मा मेरो हो। त्यसले यहाँहरू धेरै नकराउनुहोस्।’
सायद चन्द्रजीले गाडी साहुलाई काठमाडौँमा सम्पर्क गरेर यहाँको हालत जानकारी गराइदिनुभयो । उताको मोबाइल संवाद गुरूजीकै कानमा सुनाइ दिएपछि ‘हस् हजुर !’ को बोलीपछि चुपचाप चालकले बस गुडाए उकालो। उनलाई लाग्यो होला यी यात्री लरतरो अलमलले मान्ने वाला छैनन्।
साथीहरू बोलिरहेकाथिए। गाडी रोकिए पनि बोली रोकिएको थिएन। दिन ढल्किसक्दासम्म हामीले अझै खोटाङ जिल्ला छुन सकेका थिएन।
‘जयरामघाट कहिले कटिने हो? त्यसपछि उकालो चढेर हलेसी कहिले पुगिने हो ? अनिमौरे, नुनथला, मुडे, रूपाकोट ..ओ हो हो.... अझै पनि बाटो लामो छ।’ साथीहरूको कुरा सुनेर म पनि तर्सिन्छु। बाटो अझै लामै रहेछ।
(क्रमशः)
ज्ञानेन्द्र विवश