काठमाडौं - चर्चित भारतीय टेलिभिजन एंकर रोहित सरदानाको कोरोना संक्रमणका कारण निधन भएको छ । उनको निधनपछि यतिबेला भारतीय पत्रकारिता गहिरो शोकमा डुबेको छ।
शुक्रबार कोभिड–१९ संक्रमणले निधन भएका सरदानाप्रति राष्ट्रपति, प्रधानमन्त्रीदेखि पत्रकारिता, बलिउड र सर्वसाधारणले दुःख व्यक्त गरे । सहकर्मीको मृत्युको समाचार पढ्दा आफूलाई सम्हाल्न सकिनन् आजतक टेलिभिजनकी कार्यकारी सम्पादक अञ्जना ओम कश्यपले।
न्यूजरुममा वर्षौं बिताएको, हाँसखेल गरेको र थुप्रै न्यूजहरु स्कुप हानेको लगायतका स्मरण गर्दै कश्यपले आफ्नै सहकर्मी रोहित सरदानाप्रति श्रद्धासुमन व्यक्त गरेकी छन् । उनको मस्तिष्कमा फिल्मको रिलजस्तै घुमिरहे ती स्मृतिहरु ।
जी–न्यूजमा ‘ताल ठोक के’ सो चलाएर हिट बनेका रोहितले राजनीतिज्ञदेखि सेलेव्रिटीलाई हायल–कायल पार्थे र स्पष्ट दृष्टिकोण प्रस्तुत गर्थे। उनको निधनमा भारतीय राजनीति, कलाकारिता, कर्पोरेट क्षेत्रले व्यक्त गरेको ‘अबिच्यूरी’पूर्ण स्टेटमेन्टहरु यसका प्रमाण हुन्। जी–न्यूज प्रधानसम्पादक सुधीर चौधरी लेख्छन्, ‘थोरै पहिले मलाई हाम्रा क्राइम रिपोर्टरको फोन आयो।
उसले भनेको कुरा सुन्दा मेरो हात काँप्यो । हाम्रा मित्र तथा सहयोगी रोहित सरदानाको मृत्यु थियो । यो भाइरसले हामी नजिकको कसैलाई उठाएर लैजान्छ भन्ने कुरा कल्पना बाहिरको थियो ।
यसका लागि म तयार थिइँन । भगवानको यो अन्याय थियो । ओम शान्ति।’ ४१ वर्षिय पत्रकार सरदानालाई कुम्भ मेलामा रिपोर्टिङमा जाँदा कोरोना संक्रमण भएको उनी निकट स्रोतको भनाई छ।
श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई नोएडाको मल्ट्रि–स्पेसालिटी अस्पताल भर्ना गरिएको थियो । उनको अन्तिम संस्कार कुरुक्षेत्रमा गरिने बताइएको छ ।