खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख दिपनारायण रिजालले नगर क्षेत्र पूर्णरुपमा ‘लक डाउन’ भएको बताएका छन् । सर्वसाधरण आफैले सजगता अपनाएर घरभीत्रै बसेका कारण ‘लक डाउन’ सफल भएको हो ।
‘लक डाउन’ को पहिलो दिन भएका कारण कतिपय टाडा जानुपर्ने अवस्थामा रहेका मानिसबाहेक कोही पनि घर बाहिर ननिस्केको रिजालले प्रभाव न्यूजलाई जानकारी दिए ।
महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिमलाई मध्यनजर सरकारले आजदेखी नेपाललाई ‘लक डाउन’ गरेसँगै दिक्तेलबजार पनि सुनसान भएको छ ।
घरभित्रै बस्न र सावधानी अपनाउन नगरपालिकाले आज विहान ५ बजेदेखी माइकिङ गरेको पनि रिजालले बताए ।
जिल्ला अस्पताल र स्वाथ्यकर्मीहरुलाई हाई अलर्ट राखिएको उनको भनाई छ । दिक्तेलबजारस्थित माउण्ट एभरेष्ट बोर्डिङ स्कुलमा केही आजै देखी क्वारेन्टाइन बनाउन सुरु गर्ने रिजालले बताए ।